अध्यक्ष यादवद्वारा नयाँ कमला पुलका लागि एक करोड सहयोगको घोषणा

सिरहा । औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले कानूनी प्रक्रिया पूरा हुने भए नयाँ कमला पुल निर्माणमा पालिकाको तर्फबाट एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

शनिबार आयोजित नयाँ कमला पुल निर्माण महाअभियानका कार्यक्रममा उनले कमला पुलले सिरहा–धनुषा मात्र होइन, पुरै मधेशलाई नयाँ र मजबुत सुत्रमा जोड्ने बताएका छन्। “कमला नदीमा सुरक्षित पुल बनेपछि मधेशको जनजीवनमा नयाँ उर्जा थपिन्छ,” अध्यक्ष यादवले भने।

उनका अनुसार पुल पुनर्निर्माण भएपछि मधेशमा उत्पादन हुने बस्तुको व्यापार विस्तार, शिक्षा, स्वास्थ्य र आवत–जावतका सबै सेवामा सहजता बढ्नेछ। पुलले विपन्न र गरिब वर्गलाई सबैभन्दा बढी लाभ हुने उनको दाबी छ।

अध्यक्ष यादवले भने, “कानूनी अडचन नआए नयाँ कमला पुलका लागि एक करोड रकम उपलब्ध गराउँछु। निर्माणसँग सम्बन्धित थप गतिविधिमा पनि सक्रिय रहनेछु।”

नदीमा पुल निर्माण पश्चात उद्घाटन हुनु अगावै भासिएको थियो। त्यसयता करिब १४ वर्ष बितिसक्दा पनि पुल पुनर्निर्माण हुन सकेको छैन।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *