शैक्षिक सुधारका लागि कानुन र संविधान संशोधन अपरिहार्य : नगरप्रमुख यादव
सिरहा । शिक्षा क्षेत्रमा देखा परेको समस्यालाई निकास दिन कानूनी अड्चन आइरहेको हुँदा कानून र संविधान संशोधन अपरिहार्य रहेको सिरहा नगरपालिकाका नगरप्रमुख डा.नविन कुमार यादवले बताए ।
सिद्धार्थ शिशु निकेतन इंग्लिश बोर्डिंग स्कूल सिरहाको २५ औं बार्षिकोत्सव समारोहमा बोल्दै नगरप्रमुख यादवले कुनै पनि राम्रो कामको सुरुवात गर्दा मुद्दा परेर त्रुटिपूर्ण कानुन र संविधानकै कारण सोचे अनुसारको परिणाम ल्याउन नसकिएको तर्क गरे ।
नगरप्रमुख यादवले अदालतले गर्ने फैसलाप्रति व्यग्ङ गरेका छन् । जिल्लाले आँप, पुनरावेदनले इमली र सर्वोच्चले कटहर फैसला गर्ने गरेको भन्दै उनले न्यायलय सही रुपमा काम गर्न नसकेको दावी गरेका छन् ।
स्वच्छ रुपमा न्यायलय काम गर्न नसक्दा विश्वास पनि गुमाएको भन्दै नगरप्रमुख डा यादवले यस अघि पनि न्यायलयप्रति इंकित गर्दै व्याग्यात्मक अभिव्यक्ति दिएका थिए । सिरहा नगरपालिकाले कर्मचारी हटाएको विषयमा अदालतले रोक लगाएको रिस पोख्दै उनले न्यायलयले गलत काम गर्दै आएको आरोप लगाएका हुन् । नगरपालिकाले राम्रो निर्णय गरेपनि न्यायलयले उल्टाउने गरेको उनले गुनासो गरे ।

यस्तै शिक्षा नीतिमा सुधार गर्नुपर्ने भन्दै संविधान संशोधन गर्नुपर्ने धारणा पनि राखेका छन् । समारोहमा ४६ मिनेट लामो मन्त्वय व्यक्त गरेका नगरप्रमुख डा यादवले संविधानले स्थानीय तहलाई अधिकार नदिएकोले शिक्षामा सुधार ल्याउन नसकेको बताए ।
संघको अलगै शिक्षा नीति, प्रदेशको अलगै शिक्षा नीति र स्थानीय तहको अलगै शिक्षा नीति भएको कारणले पनि शिक्षामा सुधार नभएको बताएका छन् । शिक्षा क्षेत्रमा राजनीति हुनुमा संविधान नै मुख्य कारक रहेको भन्दै नगरप्रमुख डा यादवले भने,‘संविधानको संशोधन जरुरी छ ।’
स्कूलको संस्थापक लालबाबु रायको अध्यक्षतामा आयोजित समारोहमा सिरहा क्याम्पसका प्रमुख राजेश्वर यादव, पूर्व क्याम्पस प्रमुख मद्युसुदन यादव, ग्रीन हाउस इङ्गलिस बोर्डिङ्ग स्कूल सन्हैठाका प्रिन्सिपल विजय कुमार यादव, मोनिङ पर्लका संस्थापक लोचन यादव लगायत शिक्षामा सुधारको आवश्यकता र नीजि क्षेत्रका विद्यालयले निर्वाह गरेको भूमिका विषयमा चर्चा गर्दै शुभकामना दिएका थिए ।
सो अवसरमा विद्यालयको स्थापनाकालदेखि योगदान पुर्याएका शिक्षक, कर्मचारी, समाजसेवीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थिो । यस्तै विभिन्न क्षेत्रका व्यक्तिहरुलाई रजत जयन्तीको अवसरमा मायाको चिनो समेत प्रदान गरिएको थियो । समारोहमा विद्यालयमा अध्ययनरत बालबालिकाले साँस्कृतिक नृत्य प्रस्तुति गरेका थिए ।

Comments (0)