स्वास्थ्य संस्थालाई प्रसूतिसम्बन्धी उपकरण हस्तान्तरण
सिरहा। मातृ तथा नवजात शिशुको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सिरहाका पाँच स्वास्थ्य संस्थाअन्तर्गत सञ्चालित बर्थिङ सेन्टरका लागि विभिन्न प्रकारका प्रसूतिसम्बन्धी उपकरण र सामग्री हस्तान्तरण गरिएको छ
स्वास्थ्य संस्थामा प्रसूति गराउन र मातृ तथा शिशुको स्वास्थ्य सुरक्षका लागि सञ्चालित मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रमअन्तर्गत मिर्चैया अस्पताल, भलुवाही तथा बरियारपट्टी स्वास्थ्य चौकी, सुखीपुर आधारभूत अस्पताल र भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई ती उपकरण र सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
वन हर्ट वल्र्डवाइडको सहयोगमा आकस्मिक सेवाको ट्रली, एएनसी बेड, रेफ्रिजेरेटर, प्रसूति बेडलगायत प्रसूति गराउँदा आवश्यक पर्ने स्वास्थ्य उपकरण र सामाग्रीहरु हस्तान्तरण गरिएको लहानस्थित होप फाउण्डेशनकी अध्यक्ष पार्वती सुब्बाले जानकारी दिइन् ।
उनका अनुसार भलुवाही स्वाथ्य चौकीस्थित बर्थिङ सेन्टर र भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई २९÷२९, सुखीपुर आधारभूत अस्पताललाई ३४, बरियारपट्टि स्वाथ्य चौकीस्थित बर्थिङ सेन्टर ३२ र मिर्चैया अस्पताललाई ४१ प्रकारका गरी भ्याटसहित कुल ६ लाख ५२ हजार पाँच सय ८२ रुपैयाँ ३८ पैसा बराबरको प्रसूतिसम्बन्धी उपकरण र सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
करिब १० प्रतिशत प्रसूति अझै घरमा
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका अनुसार आर्थिक वर्ष ०८१÷०८२ मा सिरहाका १७ स्थानीय तहमा १३ हजार एक सय १७ जनामध्ये ११ हजार आठ सय ८८ जना स्वास्थ्य संस्था र एक हजार दुई सय ४९ जनाले घरमै प्रसूति गराएका छन् ।
पालिका तहमा सबैभन्दा बढी धनगढीमाई नगरपालिकामा ९३१ जनामध्ये ७२२ जना (७७.६ प्रतिशत) स्वास्थ्य संस्था र २०९(२२.४ प्रतिशत)ले घरमै प्रसूति गराएका छन् । यस्तै, सबैभन्दा कम जिल्ला सदरमुकाम समेत रहेको सिरहा नगरपालिकामा ८८.३ प्रतिशत स्वास्थ्य संस्था र ११.७ प्रतिशतले घरमै प्रसूति गराएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्य संस्थामा प्रसूति गराउँदा आमा तथा नवजात शिशु दुवै सुरक्षित हुने भएकाले त्यसका लागि स्वास्थ्य चौकी, आधारभूत अस्पताल र अस्पतालका स्वास्थ्य व्यवस्थापन समिति, बर्थिङ् सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिबृद्धका लागि काम गरिरहेको फाउण्डेशनका सचिव समेत रहेका सूचना अधिकारी संजय चौधरीले जानकारी दिए ।

Comments (0)