कृष्ण बहुउद्देश्य सहकारीद्वारा एकै दिन विविध कार्यक्रम
सिरहा । शैक्षिक कार्यसँग जोडेर मात्र नभई अन्य कुनै पनि रचनात्मक विकासमा सहयोग गर्न गाउँपालिका तयार रहेको अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादवले बताए ।
कृष्ण बहुउद्देश्य सहकारी संस्था अर्नमा गाउँपालिका–५, कृष्णपुरको आयोजनामा भएको हाजरी जवाफ प्रतियोगीताको समापन समारोहमा बोल्दै पालिका अध्यक्ष यादवले त्यस्तो कुरा बताएका हुन् ।
रचनात्मक क्रियाकलापले व्यक्ति भित्र लुकेका प्रतिभा प्रष्टफुटन हुनुका साथै कार्य क्षमतामा अभिवृद्धि आउने निश्चित रहेको हुँदा त्यस्ता रचनात्मक क्रियाकलाप हुनु अतिआवश्यक रहेको उनले औल्याए । यस्ता कार्य गर्नेहरुको साथमा पालिकाको पनि साथ हुने उनले थपे । उनका अनुसार यस्ता रचनात्मक क्रियाकलाप गर्न आउने दिनमा पालिकाले पनि कार्ययोजना बनाउन लागेका छन् ।
सामाजका सबै पक्षको हित हुने खालका कार्यक्रम आयोजना गर्ने संस्था धन्यवादको पात्र बनेको अर्नमा गाउँपालिकाकी उपाध्यक्ष शोभा कुमारी साहले बताईन् । रक्तदान, हाजरीजवाफ र लोकसेवा आयोगको परीक्षामा उत्तिर्ण हुनेलाई सम्मान जस्ता कार्यक्रमको आयोजना हुनु गौरबको कुरा भएको उनले अर्थाइन् ।

हाजरीजवाफ प्रतियोगीतामा सुन्दर जनता माध्यमिक विद्यालय प्रथम, मावि सन्हैठा दोश्रो र पुन्य लाल मदनलाल श्रेष्ठ माध्यमिक विद्यालय तेश्रो स्थान हासिल गर्न सफल भएको आयोजक संस्थाका सदस्य दिप कुमार यादवले बताए । तीनवटै विद्यालयका विद्यार्थीहरुलाई पुरस्कार स्वरुप कापी, मेडल, र विद्यालयलाई प्रमाणपत्र र शिल्ड प्रदान गरिएको उनले जानकारी गराए ।
माध्यमिक विद्यालय कृष्णपुर, जनकल्याण मावि गौरीपुर, जनता माध्यमिक विद्यालय अर्नमा ब्रहमपुरी, कालिकाजगतगजं मावि महनौर, माध्यमिक विद्यालय हकपारा गरी हाजरी जवाफ प्रतियोगीतामा विजेता सहित ८ वटा विद्यालयका विद्यार्थीहरु भाग लिएको उनले थपे ।

यस्तै,अर्नमा गाउँपालिका–५,कृष्णपुरको विभिन्न टोलका युवाहरुले लोकसेवा आयोगको परीक्षामा उत्तिर्ण भई नियुक्ति लिई पदस्थापन भएपछि उनीहरुलाई सम्मान गरिएको छ । विनोद कुमार शर्मा सुब्बामा, शिवकुमार साफी र अजय कुमार यादव खरिदारमा नियुक्ति पाएर पदस्थापन भएका छन् । तीनजनालाई प्रसंशा पत्र प्रदान गर्दै सम्मान गरिएको हो ।

यसैगरी, रक्त अभाव भइरहेको चर्चा उठिरहँदा कृष्ण बहुउद्देश्य सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेको छ । सुनिल कुमार साह, हरेराम यादव, जय प्रकाश यादव, मनोज कुमार यादव, श्यामबाबु महतो, कृष्णा कुमार साह, जितेन्द्र कुमार साह, राम साह, गोपाल ठाकुर, संतोषी साह, आशाराम महतो, दानी राउत, उपेन्द्र राउत, अजय कुमार यादव, रंजित कुमार यादव, राजु यादव, राम शंकर यादव, देवचन्द्र यादव, ऋषि कुमार सिंह, सन्त कुमार यादव, बिरेन्द्र यादव, रमेश कुमार यादव लगायतले रक्तदान गरेको आयोजक संस्था सदस्य सुर्यनाथ दासले बताएका छन् ।

कृष्ण बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष कपिल देव साहको अध्यक्षतामा भएको कार्यक्रममा अर्नमा गाउँपालिका ५ का वडाध्यक्ष मनिकलाल यादव, सुरेश कुमार साह, अर्नमा गाउँपालिका शिक्षा शाखा प्रमुख लगायतले मन्त्वय राखेका थिए ।


Comments (0)